प्रम देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन



धरान,पुस २१ । फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि मंगलवार सो केन्द्रको उद्घाटन गरिएको हो ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ पानबारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिए । २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको कुनै पनि लगानी छैन । प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रको दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले बताएका छन् । यसबाट ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सकिने बताइएको छ । कम्पनीले पानबारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको हो ।

सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्