छहरे-टोखा सडक तीनदिन भित्र खुल्छ- निर्माण सेवा
नुवाकोट,पुस २१। निर्माणका क्रममा अवरुद्ध छहरे -टोखा सडकखण्ड तीन दिनभित्र खुलाउने तयारी गरिएको छ। निर्माणका क्रममा अवरुद्ध सो सडक ३ दिनभित्र खुलाउने तयारी गरिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले जनाएको छ।
गत जेठ-असारमा सडकखण्डको सिस्नेरी भीर कटिङका क्रममा आंशिक अवरुद्ध गराई वैकल्पिक सडक खण्ड सुनखानी ग्रामीणदेवी माध्यमिक विद्यालय हुँदै चापको बोट यात्रा तय गरिएको थियोे । यद्यपि केहि सातादेखि थप भीर कटिङका लागि सडक बन्द गराइ वैकल्पिक सडक प्रयोग गर्न सो निर्माण सेवाले अनुरोध गर्दै आएको थियोे।
वैकल्पिक सडक वर्षाका कारण भिरालो र हिलाम्मे भइ अवरुद्ध भएपछि वैकल्पिक बाटोका नाममा निर्माण सेवाले आलोचना खेप्दै आएको थियोे। तर उक्त निर्माण सेवाले अनवरत कामदार खटाइ यथासक्य बाटो सुचारु गराउने बताउदै आएको थियो।
बिहानको पहिलो प्रहरदेखी बेलुकी ८ बजेसम्म दुईवटा मेसिन प्रयोग गरी भीर कटिङ सतहसम्म मिलाउन कामदार खटाइएको निर्माण सेवाकी सुजिता शाक्यले बताइन्। वैकल्पिक सडकखण्ड पछिल्लो वर्षाका कारण आवागमनमा समस्या देखिएपछि हालै नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको एक टोलीले अनुगमन समेत गरेको थियोे।कम्पनीले भने धेरै समय काम गरी तत्काल खुलाउने प्रयास अगाडि बढाएको जनाएको छ।
कतिपय साना तथा दुई पाङ्ग्रे सवारीसाधन वैकल्पिक सडकखण्ड हुँदै ओहोरदोहोर गर्न सकस भएको व्यवसायीहरु बताउदै आएका छन्। मंगलबार साझापथसंगको कुराकानीमा निर्माण सेवाकी शाक्यले काम तत्काल सक्ने बताएकी छिन । शाक्यले भनिन- ‘स्थानीयको जनगुनासोका आधारमा हामीले काम द्रुत गतिमा बढायौ, अबको ३ दिनभित्र सडक खुलाउने तयारी गरेका छौं।’

