विकासको सुस्त गतिप्रति प्रधानमन्त्रीको असन्तुष्टि



काठमाडौं,पुस २२ । विकासको गति सुस्त भएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार भएको बैठकमा देउवाले सरकारी कोषको रकम परिचालन नभएर बजारमा तरलता बढिरहेको सन्दर्भमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले विकास निर्माणले गति लिन नसकेकोतर्फ पनि सरकारी संयन्त्रको ध्यानाकर्षण गराएका छन् । ‘विकास निर्माणका परियोजनाहरूको गति बढाउन अनावश्यक झन्झट हटाउने गरी लाग्नुहोस्,’ उनले निर्देशन दिँदै भने, ‘कानूनी समस्या भए त्यसमा पनि सुधार गर्ने गरी क्रियाशील हुनुहोला ।’

देउवाले राष्ट्रिय गौरवका आयोजनाले गति नलिएकोमा पनि चिन्ता व्यक्त गरे । ‘राष्ट्रिय गौरवका आयोजनाको गति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्नेगरी अनुगमन गर्नुहोस्,’ उनले भने, ‘यी आयोजनाको काम तीव्र बनाउन मूल्यांकन संयन्त्र बनाउनेतर्फ लाग्नु होला ।’

सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनबारे सबै मन्त्री, सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरूलाई प्रधानमन्त्रीले नौबुँदे निर्देशन दिए ।

उनले उक्त बैठकलाई सम्बोधनका क्रममा जनतालाई दिने सबै सेवा छिटोछरितो गर्ने गरी सबै तहका सरकारी कार्यालयहरूलाई चुस्त बनाउन भनेका छन् । कोभिड–१९ को जोखिम कायमै रहेकाले खोप लगाउनयोग्य सबै नागरिकलाई कोभिडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन पनि देउवाले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए ।

उनले देशमा लगानी आवश्यक रहेका स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै उनीहरूको स्वागत र सम्मान कार्यक्रम अघि बढाउन पनि मातहतका निकायलाई निर्देशा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्