छहरे-टोखा सडक शुक्रबारदेखि खुलाउने तयारी
नुवाकोट,पुस २२ । छहरे-टोखा सडक शुक्रबारदेखि खुलाउने तयारी गरिएको छ। निर्माणका क्रममा अवरुद्ध छहरे -टोखा सडकखण्ड खुलाउने तयारी गरिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले जनाएको छ।
पटकपटक सो सडकखण्ड निर्माणका क्रममा बन्द हुँदै आएकाले सो निर्माण कम्पनीले आलोचना खेप्दै आएको थियो। निर्माणका क्रममा गत जेठ-असारमा सडकखण्डको सिस्नेरी भीर कटिङका क्रममा आंशिक अवरुद्ध गराई वैकल्पिक सडक खण्ड सुनखानी ग्रामीणदेवी माध्यमिक विद्यालय हुँदै चापको बोट यात्रा तय गरिएको थियोे । यद्यपि केहि सातादेखि थप भीर कटिङका लागि सडक बन्द गराइ वैकल्पिक सडक प्रयोग गर्न सो निर्माण सेवाले अनुरोध गर्दै आएको थियोे।
पछिल्लो पटक सो निर्माण सेवाले अनवरत कामदार खटाइ यथासक्य बाटो सुचारु गराउने बताउदै आएको थियो।
बिहानको पहिलो प्रहरदेखी बेलुकी ८ बजेसम्म दुईवटा मेसिन प्रयोग गरी भीर कटिङ सतहसम्म मिलाउन कामदार खटाइएको निर्माण सेवाकी सुजिता शाक्यले बताइन्। वैकल्पिक सडकखण्ड पछिल्लो हिउँदे वर्षाका कारण आवागमनमा समस्या देखिएकोले आफुले कामदार संख्या वृद्धि गरी सडक निर्माणलाई तिव्रता दिएको शाक्यले बताइन्।
कतिपय साना तथा दुई पाङ्ग्रे सवारीसाधन वैकल्पिक सडकखण्ड हुँदै ओहोरदोहोर गर्न सकस भएको व्यवसायीहरु बताउदै आएका छन्। साझापथसंगको कुराकानीमा निर्माण सेवाकी शाक्यले काम तत्काल सक्ने बताएकी छिन । शाक्यले भनिन- ‘स्थानीयको जनगुनासोका आधारमा भीरका ढुङ्गा हटाई सम्याउने काम भैरहेको छ ।’ शाक्यका अनुसार शुक्रबार साँझसम्म बाटो पूर्ण सुचारु हुनेछ।

