विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं,पुस २३ । सुनसरी, कैलाली र धनुषामा भएको सवारी दुर्घटनामा परी ४ जनाले ज्यान गएका छन् ।
प्राप्त समाचार अनुसार सुनसरीको ईटहरी उपमहानगरपालिका २० को तरहरास्थित सडकमा प्रदेश नं. १–०२–००१ ख ८१९६ नम्बरको बसले को. २७ प २१९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक संखुवासभा खांदबारी नगरपालिका ७ बस्ने २६ वर्षीय सन्तोस राई र सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राई रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै गरी कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीस्थित सडकमा रा. १ त ४६५३ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री कञ्चनपुर कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने ४० वर्षीय करन भट्टराईको बिहीबार राती घटनास्थलमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता धनुषाको मिथिला नगरपालिका ८ बडहरीस्थित सडकमा प्र २–०२–००१ च ०७२८ नम्बरको बोलेरो र बा. १७ च ३७८६ नम्बरको कार एक आपसमा बिहीबार राति ठोक्किदा कार चालकको ज्यान गएको छ ।
महोत्तरी गौशाला नगरपालिका २ बस्ने ३५ वर्षीय चालक उदम चौधरीको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका चालक चौधरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये १ जनाको राजधानी स्थित न्यूरो अस्पताल बाँसवारी र २ जनाको मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ ।
बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

