माैसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, पुस २८ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो केही दिनयता देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपात भएको छ । जल तथा मौसमविज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहनेछ । बासीले आगामी शुक्रबारदेखि अझै अर्कौ मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना बढेको बताए ।
विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछाडी प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

