४ ओटा कम्पनीको २ करोड ४२ लाखभन्दा बढी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा
काठमाडौं,माघ १ । चार ओटा कम्पनी कुल २ करोड ४२ लाख २२ हजार ३९० दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै चार ओटा कम्पनी आईपीओ ल्याउने तयारीमा रहेका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले १०:३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०:४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डमा भदौ १७ गते निवेदन दिएको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, अपि पावर कम्पनीले १:०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल फाइनान्स लिमिटेडले १:०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक १ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी चारओटै कम्पनीलाई समीक्षा र टिप्पणी पठाइसकेको छ ।
आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र यी चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछन् ।
असोज महीनादेखिनै नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहान भएसँगै आईपीओ लगायत हकप्रद शेयर निष्कासनका लागि स्वीकृत दिने प्रक्रिया ढिलाइ भएको हो ।
पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिक्ष्मराज ढुङ्गाना बर्खास्त भएका थिए । दुई कम्पनीले भने हकप्रद शेयर निष्कासनको मिति तय गरिसकेका छन् ।
नारायणी डेभलपमेण्ट बैंकले भने पुस ७ गतेदेखि रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । यो हकप्रद शेयरमा आवेदकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गतेदेखि ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन बन्द मिति माघ २७ गतेसम्म रहेको छ ।
विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरेको हो । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आर्थिक अभियानबाट

