प्रदेश नम्बर २ को नाम मधेश प्रदेश, राजधानी जनकपुर
काठमाडौं,माघ ३ । नेपालमा संघीयता कार्यन्वयनमा आएपछि बनेको प्रदेश २ ले बल्ल आफ्नो नाम र राजधानी टुंगो लगाएको छ । सोमबार सभामा भएको मतदानमा दुई तिहाईले प्रदेशको नाम र राजधानी टुंगो लागेको हो । यससँगै अब प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर रहने जनाइएको छ ।
यस अघि ६ वटा प्रदेशको नाम र राजधानी टुंगिएको छ भने प्रदेश १ को नाम टुंगो लगाउन बाँकी रहेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।
१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

