नुवाकोट पञ्चकन्याको घ्याङस्वारा पार्कको विशेषता: पार्क हुँदै भूमेस्थान मन्दिरसम्म सिढी



नुवाकोट,माघ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारामा होमस्टेसहितको पर्यटकीय पार्क निर्माणको चरणमा रहेको छ । कुल १५० रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि गत आर्थिक वर्षको पञ्चकन्या गाउँपालिका र प्रधानमन्त्री स्वरोजगार कोषबाट ५२ लाख खर्चिएको थियोे भने यस वर्ष १५ लाख खर्चिने लक्ष्य राखेको छ ।

सामुन्द्रीक सतहबाट १६ सय मिटर उचाइमा रहेको उक्त पार्क काठमाडौको टोखा- छहरे- घलेभञ्ज्याङ् हुँदै झण्डै तीनघण्टाको मोटर यात्रा पश्चात् पार्क पुग्न सकिन्छ । पछिल्लो समय स्थानीयस्तरमा वनभोज तथा भ्रमण गर्ने केन्द्रको रुपमा समेत लिइने सो पार्कमा टाढाबाट आउने नव आगन्तुकको बसाइँ सुरक्षीत प्रत्याभूत गराउन अटेज बाथरुमसहितको आरामदायी बस्ने कोठा, भान्साघर, तातो चिसो पानीको व्यवस्थापन समेत गरिएको छ । अर्गानिक कोदोको ढिंडो तथा लोकल कुखुराको स्वादमा रमाउने बाह्य पर्यटकका लागि मनोरञ्जनका थप कार्यक्रम समेत आगामी दिनमा आयोजना गर्ने गाउँपालिकाको योजना रहेको छ ।

पञ्चकन्या गाउँपालिकका प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक तथा इन्जिनियर कपिल शाहका अनुसार उक्त पार्क नजिकै रहेको भूमेस्थान सिद्दीगणेश मन्दिरसम्म सिढी (पथमार्ग) ब्यवस्थापन गरिएको छ । इन्जिनियर शाहका अनुसार १ सय १३ वटा सिढी समेत निर्माण सम्पन्न गरिएको छ। पार्क र मन्दिर बीचको दुरी ५ सय ४० मिटर रहेको छ जस अन्तर्गत २ सय ५० मिटर तत्काल सिढी निर्माण गरिने इन्जिनियर शाहले बताए। मनोरम प्राकृतिक छटा बीच रहेको यस घ्याङस्वाराको उत्तरतर्फ आकर्षक हिमशृङ्खलाले जोकोहीलाई मन्त्रमुग्ध बनाउने गर्द्छ ।

यस पर्यटकीय स्थानमा पिकनिक स्पटको अलावा खानेपानीको ट्यान्की स्थापना, पर्यटक आवास निर्माण सम्पन्न भैसकेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए। गाउँपालिकाका अध्यक्ष तामाङले उक्त पार्कमा द्वन्दकालमा ज्यान गुमाएका सेवा क्षेत्रका शहिदहरुको प्रतिमा स्थापना कार्यक्रम यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले भने – ‘पालिकाकै सुन्दर भूमिको रुपमा परिचित घ्याङस्वारालाई थप पर्यटन प्रवर्द्धन गर्छौ र तत्काल एक खेलकुदको मैदान निर्माण कार्य समेत अगाडि बढाएका छौ ।’

यसरी बन्दैछ पार्कका अन्य सजावट

पार्क निर्माणका साथै  विभिन्न सजावट कार्य अगाडि बढिरहेको छ । पछिल्लो समय पार्कका सजावट पक्ष निर्माणका लागि गाउँपालिकाले २४ लाख र पार्क हुँदै मन्दिरसम्मको सिढी निर्माणका लागि १५ लाख बजेट खर्चिने पार्कका इन्जिनियर कपिल शाहले बताए ।

कामप्रतिको बफादार र लगनशीलतालाई मध्यनजर राख्दै स्थानीय नागरिकलाई सजावट निर्माणमा खटाइएको छ । सो क्षेत्रका ५२ जना नागरिक दैनिक सो पार्क निर्माणमा खटाइएको छ ।

उनीहरुले न्युनतम दैनिक ज्याला ५ सय ७७ प्रदान गरिएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  पञ्चकन्या गाउँपालिका बाट संचालन भइरहेको मन्दिरसम्मको सिढी निर्माण तथा पार्क स्तर वृद्धिका लागि हालसम्म ३ हजार १२० जना कामदारले श्रम खर्चि सकिएको प्रधानमन्त्री रोजगार कार्यक्रम पञ्चकन्याका संयोजक सरोज खातीले बताए ।

पार्कमा तत्काल २ वटा वनभोज गृह निर्माणको चरण रहेको छ । पार्कका सजावट कार्य निर्माणसंगै स्थानीय तथा बाह्य पर्यटकको भ्रमणको मुल थलो सो पार्क बन्ने अपेक्षा पञ्चकन्या गाउँपालिकाको कार्यालयले राखेको छ ।

पर्यटन बोर्डद्वारा घ्याङस्वारा पार्कलाई सहयोग

पर्यटन बोर्डले सो पार्कलाई आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार सो बोर्डका मेम्बरसहितको गाउँपालिकाको अवलोकनमा आवश्यक रकम बोर्डले सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

सो पार्कको सोमबार नै साइट सर्भे पनि सम्पन्न गरेको छ । रकम विनियोजनसंगै यसवर्ष नै सिढी निर्माण सम्पन्न हुने अपेक्षा गाउँपालिकाले राखेको छ।

सिढी निर्माणका क्रममा स्थानीय नागरिक
सिढी निर्माण अवलोकनका क्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ
पर्यटक वासस्थान

प्रतिक्रिया दिनुहोस्