विशेषज्ञसहितको कवि तथा लेखकको एक टोलीले गर्यो पञ्चकन्या गाउँपालिकाको भ्रमण
नुवाकोट, माघ ४ । विशेषज्ञसहितको कवि तथा लेखकको एक टोलीले जिल्लाको पञ्चकन्या गाउँपालिकाको भ्रमण गरेको छ । संसाक मासिकको आयोजनामा साहित्यकार, कवि/लेखक तथा विभिन्न विषयका विशेषज्ञहरूको एक टोलीले सो गाउँपालिकाको विभिन्न धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थानहरूको एकदिवसीय अवलोकन तथा परामर्श भ्रमण गरेको हो ।
साहित्यिक भ्रमण टोलीले सर्वप्रथम पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कविलास, पाठकथोकमा रहेको धार्मिक, प्राकृतिक तथा ऐतिहासिक स्थलको रूपमा रहेको कपिलेश्वर (नाट्येश्वर) महादेवको दर्शन, अवलोकन गरेको थियो । महादेवको दर्शन, अवलोकन पश्चात् टोलीले त्यस वरप रहेको पाटीपौवा, मठमन्दिर र पूरातात्त्विक वस्तुहरूको अध्ययन, अवलोकन समेत गरेको थियो ।
प्राकृतिक सम्पदाहरूको दृश्यावलोकन गर्दै अगाडि बढेको टोलीले स्थानीयसँग कुराकानी र छलफल गर्दै पञ्चकन्या–३, लाकुरीभञ्ज्याङ्गमा रहेको हरिकृष्ण थापाको आकृति होटेल एण्ड खाजा घरमा खाना खाएका थिए । त्यहाँ रहदा त्यस वरपरको प्राकृतिक दृश्यावलोकन, कालिका मन्दिरको दर्शन र स्थानीयसँग केही समय जानकारी लिएपछि टोली गाउँपालिकाको कार्यालय रहेको लाकुरीभञ्ज्याङ्ग ( घलेभञ्ज्याङ् ) पञ्चकन्या, भद्रुटारको घलेभञ्ज्याङ्गमा पुगेर भ्रमण टोलीले त्यस आसपासका ऐतिहासिक तथा मनोरम प्राकृतिक स्थल र दृश्यहरूको अवलोकनको साथै भञ्ज्याङ्गको केहीमाथि रहेको मुक्तेश्वर महादेव, कञ्चकन्या र सप्तकन्या देवीको दर्शन गर्नुको साथै केही बेर स्थानीयसँग भलाकुसारी गरेका थिए ।
सोही क्रममा गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ्ग ( रमेश ) को निमन्त्रणामा त्यस स्थानमा पुगेको टोलीले तत्पश्चात् गाउँपालिकाको कार्यालय रहेको लाकुरीभञ्ज्याङ्गबाट करिब ५.५ कि.मि. पूर्वतर्फ घ्याङ्स्वाँरामा निर्माणाधीन मनोरञ्जन पार्कको समेत भ्रमण गरेको जनाएको छ । बन्दै गरेको उक्त घ्याङ्स्वाँरा पार्कमा अतिथि टोलीलाई स्वागत गर्दै अध्यक्ष तामाङ्गले करिब १५० रोपनी जग्गामा निर्माणाधीन पार्कमा खेलकुद मैदान, वनभोज स्थल, मनोरञ्जन पार्क, मन्दिर, पाहुना घर, जीपलाइन आदि रहने बताए । त्यस्तै दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको उक्त योजनामा करिब ५० करोड लाग्ने अनुमान रहेको अध्यक्ष तामाङले बताए । ‘हाल प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको रकमले केही काम भइरहेको र बाँकी रकम सबै जोहो नै गर्नुपर्ने छ’, अध्यक्ष तामाङ्गले भने, ‘मेरो काम सबै पारदर्शी र जवाफदेही छन्, आँटेको छु, कसो सम्पन्न नहोला र ! दुई वर्षभित्र सम्पन्न गर्न म दृढताका साथ लागेको छु, ।’ पदमा रहेपनि नरहेपनि यो योजना सम्पन्न गर्न र गाउँको विकासमा आफु सधैँ कम्मर कसेर लाग्ने बताए । जिल्लाकै नमुना गाउँपालिका भवन निर्माण भैरहेको बताउँदै अध्यक्ष तामाङले गाउँमा रहेका कच्ची, ग्राभेल र पक्की (पिच गरिएका) आदि सडकहरूका बारे जानकारी गराए । अध्यक्ष तामाङ्गले गाउँपालिकाले कृषिको विकास र आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको बताउँदै बाख्रा पालन, भैँसी पालन व्यवसाय उद्योगकै रूपमा सञ्चालन हुन लागेको जानकारी गराए । यसको साथै पर्यटन प्रवर्द्धनको लागि पनि एक दुइवटा राम्रा होटेलहरू खोल्ने प्रकृयामा रहेको अध्यक्ष तामाङ्गको भनाइ थियो । गाउँको दुईकिनाराबाट दुई ठूला नदीहरू बगेका छन्, तर यहाँ कति ठाउँमा सिँचाइ तथा खाने पानीकै अभाव रहेको स्मरण गर्दै अध्यक्ष तामाङले त्यो अभावलाई पूरा गर्ने ठूला सिँचाइका योजना पनि निर्माणको प्रकृयामा रहेको पनि बताए । एक फरक प्रसङ्गमा उनले पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाकै कम बेरुजु भएको पालिका भएको बताए । पालिकाको बेरुजु एक प्रतिशतको हाराहारीमा मात्र रहेको बताए ।
साहित्यको क्षेत्रमा आफुलाई त्यति ज्ञान नभएको र त्यसको बारेमा कसैले सल्लाह दिने र सम्झाउने काम नगरेकोले आफ्नो कार्यकालमा त्यति केही गर्न नसकिए पनि अब बाकी समयमा भने केहि गर्ने बताए । सुरुदेखि नै मीठो आतिथ्यता प्रदान गर्दै अन्त्यमा छिटो अर्को भ्रमण गर्ने निम्तो दिँदै अध्यक्ष तामाङ्गले भ्रमण टोलीलाई आफ्नो कार्यालयमा स्वागत गरे पश्चात् विदाई गरे ।
अध्यक्षसँगको अन्तरक्रियामा साहित्यकार विद्वान डा.शैलेन्दुप्रकाश नेपालले गाउँपालिकाभित्र संस्कृति, साहित्य र कलाका क्षेत्रमा भए, गरेका कामका बारेमा प्रश्न गरेका थिए । त्यस्तै उद्योग, पर्यटन र विकासका बारेमा लेखक/ पत्रकार तथा उद्योगी रत्नप्रसाद श्रेष्ठ अनामणिले आफ्ना जिज्ञासा राखेका थिए । त्यसैगरी लेखापरीक्षण विज्ञ डा.दामोदर पुडासैनी किशोरले विकास, सुशासन, आर्थिक पारदर्शिता र बेरुजुका विभिन्न पक्षमा प्रश्नहरू गरेका थिए । स्वास्थ्य मन्त्रालयको सहसचिव डा.राधिका थपलियाले स्वास्थ्यका क्षेत्रमा गाउँपालिकामा भए, गरेका कामहरू, गाउँमा कोभिडको अवस्था आदिका बारेमा अध्यक्ष समक्ष प्रश्न गरिन।
साहित्यकार तथा पत्रकार उमेश पाण्डेले संयोजन तथा सहजिकरण गरेको सो भ्रमण तथा विमर्श कार्यक्रममा साहित्यकार/ पत्रकार मणि लोहनी, कवि/गायिका रेणु अधिकारी मौनताले पनि अध्यक्षसमक्ष विविध प्रश्न गरेका थिए । पञ्चकन्या गाउँपालिकाको विभिन्न स्थानहरूको अध्ययन, अवलोकन र परामर्श गर्दै भ्रमण टोली साँझ ४:३० बजे सोही गाउँपालिकाको वडा नं. ५, च्वान्डाँडाको सिरानमा रहेको सल्लाघारीको चिसो हावा खाँदै काठमाडौँतर्फ फर्किएको थियो ।
एकदिवसीय अवलोकन तथा परामर्श भ्रमणमा साहित्यकार, कवि/लेखक तथा विभिन्न विषयका विशेषज्ञहरू डा.शैलेन्दुप्रकाश नेपाल, डाक्टर दामोदर पुडासैनी किशोर, डा. राधिका थपलिया, कवि/ पत्रकार रत्नप्रसाद श्रेष्ठ अनामणि, साहित्यकार/पत्रकार उमेश पाण्डे, कवि/गायिका रेणु अधिकारी मौनता, साहित्यकार/पत्रकार मणि लोहनी, शिक्षिका सविता पाण्डे र चालक शङ्कर जी.सी. को सहभागिता रहेको थियो ।

