तनहुँ शुक्लागण्डकीको एउटै वडाबाट चार करोडको सुन्तला बिक्री



तनहुँ,माघ ५ ।   शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतको परिवारले गाउँको पाखो बारीमा झण्डै दुई हजार सुन्तलाका बोट लगाएको छ । कोदो मकै फल्ने बारीमा लगाइएको १२ सय बोटले फल दिन थालिसकेको छ ।

महत परिवारले यो वर्ष सुन्तला विक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी लिन सफल भएको बताउँछन् । महत आफैंले काठमाडौंको कालीमाटी बजारसम्म सुन्तला पुर्‍याएर विक्री गरेका हुन् । ‘यसपालि राम्रो फलेको थियो । बेलाबेलामा वर्षात हुँदा कुहिएर धेरै झरे । पानी नपरेको भए अझ धेरै कमाई हुन्थ्यो होला’, उनले भने ।  सुन्तला विक्रीबाट भएको कमाइबाट करिब पाँच लाख रुपैयाँ त गोडमेल, खनजोत, औषधिउपचार र मलजलमा खर्च हुने उनले बताए ।

जरेबरका दुर्गा भुजेल पनि यसपालि सुन्तला विक्रीबाट मनग्य आम्दानी लिन सफल भए । १३ लाख ९० हजार रुपैयाँको सुन्तला उनको बगानबाटै विक्री भएको हो । आम्दानी भएको रकमबाट दुई लाख रुपैयाँ गोडमेल र खनजोतका लागि छुट्याएको उनले बताए । उनका अनुसार बाँकी रकम केही घर खर्चमा सकिन्छ त केही रकम बचत समेत हुन्छ ।  ‘कोदो मकै लगाउन छाडेर बारीभर सुन्तला मात्र लगाएका छौं । आम्दानीको मुख्य स्रोत नै सुन्तला बनेको छ पछिल्ला वर्षहरूमा’, उनले भने ।

बगानको सुन्तलाले बजार पाउनलाई कुनै समस्या नरहेको भुजेलले जानकारी दिए । ‘सुन्तला टिप्ने बेला भएपछि बगान ठेक्कामा लिनलाई घरघरै ठेकेदार आउँछन् । ठेकेदारको खोसाखोस हुन्छ’, उनले अगाडी थप्दै भने, ‘सुन्तलाको बजार राम्रै छ । मूल्य त्यति राम्रो पाउन सकेका छैनौं । मेहनतको अनुसार मूल्य नपाएको जस्तो लाग्दछ ।’

महत र भुजेल प्रतिनिधि किसान मात्र हुन् । यी दुईले जस्तै शुक्लागण्डकी नगरपालिका–११ को नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैचे, ज्याङलादीका हरेक घरले सुन्तला विक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गर्छन् । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती बनेको छ ।

सुन्तलाका लागि हावापानी र माटो उपयुक्त भए पनि यस क्षेत्रका किसानले ६० को दशक पछाडि मात्र व्यावसायिक सुन्तला खेती थालेका हुन् । सुन्तला खेतीमा लागेपछि किसानको जीवनस्तर उकासिएको सुन्तला जात फलफूल ब्लक सञ्चालक समिति नाम्सीकोटका अध्यक्ष जगत महत बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको नाम्सीकोट सुन्तला ब्लकमा १३३ किसान आबद्ध छन् । समूहमा आबद्ध हरेक किसानले कम्तीमा एक लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म वर्षेनी आम्दानी लिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्