भारतीय गाडीको ठक्करबाट बारामा दुई जनाको ज्यान गयो
वीरगन्ज, माघ १३ । बाराको सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगन्ज कलैया सडकखण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
वीरगन्ज कलैया सडकखण्ड अन्तरर्गत सिसहनिया चौक स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे कलैयाबाट वीरगन्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल गम्भीर रुपमा घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो । नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो ।
नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ठक्कर दिई फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

