उखुबारीमा गाडिएको अवस्थामा दुई पुरुषको शव भेटियो
काठमाडौं, माघ १३ । मोरङको एक उखुबारीमा गाडिएको अवस्थामा दुई पुरुषको शव फेला परेको छ । दुईमध्ये एक पुरुषको पहिचान भइसकेपनि प्रहरीले अनुसन्धानलाई थप गति दिएको छ ।
मोरङको धनपालथान ७ बोर्डिङस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा फेला परेकामध्ये एक राजेन्द्रकुमार श्रेष्ठ रहेको खुलेको छ । उनको लाइसेन्सबाट पहिचान खुलेको प्रहरीले जनाएको छ । ४९ वर्षीय श्रेष्ठ सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका थिए ।
श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको घाँटीमा डोरीले कसेर हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । अर्का पुरुषको भने अझै पहिचान हुन सकेको छैन । उनको शव श्रेष्ठको भन्दा ३० मिटर टाढा गाडिएको अवस्थामा फेला परेको छ ।
दुवै पुरुषको शव बुधबार उखु काट्ने क्रममा किसानले भेटेका थिए । खाडल खन्दा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खनेर हेर्दा कपडामा बेरिएको शवहरु भेटिएको थियो ।

