नुवाकोटको अक्करे बजार नजिकै बनेको पक्की पुल दुई वर्ष देखि प्रयोगविहिन
नुवाकोट,माघ १३ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० भैँसेबजार र वडा नं. ७ तुप्चे अक्करेबजारलाई जोड्ने गरी तयार गरिएको पक्की पुल प्रयोग विहिन भएको छ । यद्यपि निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहिन भएको हो । पुलको मुखमा पर्ने जग्गाको मुआब्जा विवादका कारण पुल प्रयोगमा आउन नसकेको हो ।
त्रिशुली नदीमाथिको पुल बनेको दुई वर्ष बितिसक्दा पनि प्रयोगमा आएको छैन । त्यसो त यो पुलको निर्माण कार्य पनि दुई वर्ष ढिला गरि नै सुरु भएको थियो । २०७१ सालमा सम्झौता गरेर २०७४ मा सम्पन्न गर्ने गरी सपना कन्स्ट्रक्सन जेभीले निर्माण सुरु गरेको यो पुल निर्माणमा सुरुदेखि नै अवरोध हुँदै आएको थियो । पुलको मुख्य सडक जोड्ने पहुँचमार्ग सडकमा परेको जग्गाको मुआब्जा नदिएको कारण पुल अहिले सञ्चालनमा नआएको शिव विकले बताएका छन् । उनका अनुसार जग्गाधनीले अदालतमा मुद्दा हालेपछि अहिले मुआब्जाको टुङ्गो नलगाई कार्य अगाडि नबढाउने अदालतले आदेश गरेको छ ।
एक सय मिटर लम्बाइ, १० मिटर चौडाइको पक्की मोटरेबल पुल सञ्चालनमा नआउँदा यस क्षेत्रका बासिन्दालाई सवारीसाधन लिएर वारिपारि गर्न त्रिशुलीबजार घुमेर आउनु पर्ने अवस्था छ । व्यवसायी सुदामा शाहीका अनुसार पुलसँगैको सानो गोरेटो बाटोबाट मोटरसाइकल आवत–जावत गर्ने गरेको भए पनि पुलको मुखैमा पर्खाल लगाएको माटो फिलिङ नगरेको ठूलो खाडलले गर्दा रात–साँझ दुर्घटनाको जोखिम छ ।

