उपत्यकाको सार्वजनिक यातायातमा हट्यो जोरबिजोर प्रणाली



काठमाडौं,माघ १५ । कोरोना भाइरसको तेस्रो भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीलाई हटाइएको छ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका हुन् । 

ती जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। यो निर्णय शुक्रवार राति १२ बजेदेखि लागू भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार निजी यातायातको हकमा भने यसअघिको आदेश भने कायम रहेको छ । जसअनुसार सार्वजनिक सवारी साधनमा जोरबिजोर हटेको छ तर निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् छ । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहेको उनले बताए।   

शुक्रवार नै बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्