कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त



काठमाडौं,माघ १७ । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित भन्दा केही सुस्त भएको हो ।

संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमै ‘आइसोलेशन’मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले बताएको छ । शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकोमा अहिले त्यो संख्या ४०० हाराहारीमा छ । निर्माणस्थलमै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले बताएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकोमा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए ।

सुरुङमार्ग अहिले दैनिक ६–७ मिटर मात्र खनिएको छ । सुरुङ खन्न शुरू भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गतवर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकोमा अहिले संक्रमण बढेकाले केही समस्या भएको छ,’ उनले भने । आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झन्डै डेढ महिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए ।

अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउनसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुन सक्छ । अबका दिनमा अरू कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए । कोरोना र अरू अवरोधले बाधा पु¥याएमा भने अवधि सकिँदा काम बाँकी रहन सक्छ ।
 
‘अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जान सक्छ,’ उनले भने । निर्माणस्थलमा जग्गाको विवाद रहेकोमा अहिले त्यो समाधान भइरहेको छ । धादिङतर्फ पुरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए ।

मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरे पनि आयोजनाले त्यसको समाधान गरिरहेको छ । यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्नेछ । जग्गा नलिई बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए ।

आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झन्डै ५६० जना कार्यरत छन् । जापानी निर्माण कम्पनीका तर्फबाट २० र तीनजना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली छन् ।

२०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी हाज्मा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्नेगरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । यससँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्