हेलम्बु–मेलम्ची क्षेत्रमा तत्काल पाँच पुल बनाउने सहमति



सिन्धुपाल्चोक,माघ १८ । गत असार १ र साउन १९ गते गएको भे्रमाथाङ पहिरोका कारण क्षति पुगेको हेलम्बु–मेलम्ची क्षेत्रका पाँचओटा पुल तत्काल बनाउने सहमति भएको छ । पूर्वमन्त्री एवम् संघीय सांसद् शेरबहादुर तामाङको अध्यक्षतामा सोमवार ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पाँचपोखरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने पक्की पुल, मेलम्ची फट्टे पक्की पुल र मेलम्ची हेलम्बु सडक खण्डका थप तीनओटा पक्की पुल तत्काल निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले स्थानीय सरकारले चासो दिने हो भने पुल निर्माण तत्काल शुरू हुने बताए । ‘बाढीको क्षतिका कारण झन्डै ६ महीना सास्ती बेहोरिरहेका त्यहाँका स्थानीयको पीडामा मल्हम लगाउन स्थानीय सरकार सक्रिय हुन जरुरी छ,’ सापकोटाले भने, ‘स्थानीय सरकारले चासो दिए हामी तुरुन्तै काम शुरू गर्न तयार छौं ।’ सडक विभागको तर्फबाट गर्नुपर्ने काममा कुनै ढिलाइ नगर्ने उनले बताए ।

सडक विभागको पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठले छिटो प्रक्रियाबाट पुल र सडक निर्माणको काम शुरू गर्नुपर्ने आवश्यकता औंल्याए । बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर आर्याल र इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले सडक तथा पुल पुनर्निर्माणमा ढिलाइ भएकोमा चिन्ता व्यक्त गरेका थिए । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलम्ची भोताङ सडक वर्षायाम अगाडि नै पुनर्निर्माण गरिसक्नुपर्नेमा जोड दिएका थिए ।

बैठकले मेलम्ची–हेलम्बु सडक, मेलम्ची–भोताङ सडकको तत्काल पुनर्निर्माण गर्न र बाहुनेपाटीको पुलको काम तत्काल सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

बैठकमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवाल, मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, इन्जिनियर जितबहादुर कार्कीलगायतले आगामी जेठ अगाडि नै पुल र सडक सुचारु गर्नुपर्नेमा जोड दिएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्