दूधको मूल्य बढाउन चितवनका किसानको माग, तत्काल वृद्धि नगरिए आन्दोलनको चेतावनी
काठमाडौं,माघ १८ । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतवार पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।
दूधको मूल्यमा प्रतिलिटर रू. १५ देखि २० सम्म बढाउनु पर्ने उनीहरुको माग छ । संघका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए ।
सरकारले एक लिटरमा रू. १० मूल्य बढाएर किसानलाई रू. सात र डेरी उद्योगीलाई रू. तीन दिने तयारी गरेको बताइएको छ ।
उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२ दशमलव ५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए ।
अध्यक्ष न्यौपानेले भने, ‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रू. ६३ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।’ सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।
हाल जिल्ला ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।
४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने संघले जानकारी दिएको छ । संघले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जानकारी दिइएको छ । आर्थिक अभियानबाट

