मन्त्रिपरिषद् बैठकका सात निर्णय



काठमाडौं,माघ १९ । सरकारले दूधको न्यूनतम मूल्य निर्धारणदेखि शिक्षक अस्पताल निर्माण गर्न स्वीकृत दिनेसम्मको निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैया ४ पैसा निर्धारण गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो भने मूल्य बढाउन किसानको समेत दबाब थियो । त्यसपछि गठन भएको अध्ययन समितिको सुझावअनुसार मन्त्रालयले दूधको मूल्य बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । दूधको मूल्य साढे २ वर्षयता बढेको थिएन । यसअघि हरेक वर्ष मूल्य निर्धारण हुँदै आएको थियो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले विश्व बैंकको १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको छ भने ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरमा छूट दिने निर्णय गरेको छ । बैठकले शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गरेको छ । त्यस्तै, बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धरलाई नियुक्त गरेको छ भने नेपाल टेलिभिजनको अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्नेसहित बढुवा समितिको सिफारिशबमोजिम कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्