प्रधानमन्त्रीको विज्ञमा नुवाकोटका किरण गजुरेल नियुक्त
काठमाडौं,माघ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेका हुन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय ब्यक्ति हुन। उनका विभिन्न अनुसन्धानात्मक कृतिहरु समेत प्रकाशित छन् ।
यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।

