सिन्धुपाल्चोक मेलम्चीमा नवनिर्मित पुलको उद्घाटन
सिन्धुपाल्चोक,माघ २३ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ चनौटेमा ९० लाख ५३ हजार रुपैयाँ लागतमा निर्मित पुल सञ्चालनमा आएको छ । गृहमन्त्री बालकृष्ण खाँणले शनिवार एक कार्यक्रमबीच उक्त पुलको उद्घाटन गरेका छन् ।
गत असार १ गतेको बाढीले चनौटेको रातोपुलमा क्षति पुर्याएको थियो भने साउन १८ को बाढीले पुल नै बगाएको थियो । पुल बगाएपछि त्यस भेगका करिब १५ हजार स्थानीय प्रत्यक्ष मारमा परेका थिए । अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा लिएको थियो । करिब ९ सातामा तयार गरिएको पुल गृहमन्त्री खाँणले उद्घाटन गरेलगत्तै प्रधान सेनापति प्रभुराम शर्माको रोहवरमा सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८ दशमलव ७७ मिटर लम्बाइ र ४ दशमलव २० मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता २४ टन रहेको छ ।
सवारी सुरक्षाको दृष्टिकोणले पुलमा अधिकतम १० किलोमिटर प्रतिघण्टाको गति तोकिएको छ । पुलमा एकपटकमा एकतर्फी सवारीसाधनमात्र चल्न सक्ने नेपाली सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए । दैनिक ६० जना सैन्य जनशक्तिले ६४ दिनमा पुल तयार पारेको उनले जानकारी दिए ।
पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले हेलम्बु–मेलम्चीमा आएको बाढीले भएको जनधनको क्षतिले राष्ट्रलाई ठूलो घाटा पुर्याएको बताए । अहिले पुल बनेकाले बाढी पीडितलाई केही मात्रामा भए पनि राहत मिल्ने अपेक्षा उनको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पुलले स्थानीय बासिन्दालाई सहज हुनुका साथै पर्यटकको आवतजावत समेत बढ्ने बताए ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको सो पुल सञ्चालनमा आएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्ची नगरपालिकाका–७ र ८ का साथै पाँचपोखरी गाउँपालिका– १, २ वडा लगायत ठाउँमा यातायात सहज हुने भएको छ ।

