फागुन अन्तिम सातादेखि भूमिहीनलाई जग्गाधनी पूर्जा
विराटनगर,माघ २३। राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार अध्यक्ष केशव निरौलाले पुर्जा वितरणका लागि आवश्यक प्राविधिक र प्रशासनिक काम सुरु भइसकेको जानकारी दिए ।
प्राविधिक कर्मचारीहरू केही दिनभित्रै आयोगसँग सम्झौता गरेका स्थानीय तहमा पुग्ने र नापजाँचको काम शुरू गर्ने भन्दै निरौलाले फागुन महीनासम्ममा अमिन र सर्वेक्षकले आफ्नो काम सक्ने र त्यसपछि पुर्जा वितरणको काम शुरू हुने बताए ।
देशैभरका सबैजसो पालिकामा छिटफुट रूपमा सुकुमबासी समस्या भए पनि मुख्यगरी ३३० पालिकामा बढी समस्या रहेको आयोगले बताएको छ ।

