चिसोले कठ्याङ्ग्रीएर पाल्पामा एकजनाको मृत्यु
पाल्पा,माघ २३ । जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा शनिबार एक जनाको मृत्यु भएको छ ।अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए।
तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यसअघि तानसेन -४ बडिज्ञानटोल भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका थिए।
ज्याला मजदुरी गर्दै आएका उनी २२ गते विहान करिब ८ बजे तानसेन नगरपालिका -४ सिल्खानटोलस्थित तानसेन-गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए।
दुवै जनाको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ।

