नुवाकोटको थान्सिङ : टपरीको त्यो मिठो भोजन



नुवाकोट, माघ २८ । हराउदै गएको टपरीको भोजन नुवाकोट थान्सिङमा एक झल्को पुनः देखिएको छ ।

ग्रामीण बस्तीमा समेत क्याटरिङ बोलाई खानपिनको प्रवन्ध हुने गरेको पछिल्लो समय नुवाकोटको लिखु गाउँपालिका थान्सिङ फाटमा भने पुरानै शैलीमा भोजभतेर आयोजना गरिएको हो ।

परापुर्व समयदेखि मानिदै आएको टपरी भोजन फेरि देखिँदा स्थानीय दङ्ग परेका थिए भने कोही अनौठो मान्दै फोटो तथा सामाजिक संजालमा लाइभ गर्न लागेका देखिन्थे ।

स्थानीय इश्वर भण्डारीको घरमा आयोजना गरिएको सप्ताहको सातौ दिन तथा शुभ ब्रतबन्धको अवसरमा आयोजित भोजमा लोपोन्मुख संस्कृतिको एक झल्को पुनः देखिएको हो । गाउँ बस्तीमा समेत क्याटेरिङको बफे डिनरमा अभ्यस्त भएका स्थानीयले पुर्खौली यसप्रकारको काज हर्षका साथ स्वीकारेका देखिन्थे ।

स्थानीय युवा सुमन भण्डारीले यस्ता संस्कृती लोप हुनु दुर्भाग्यपुर्ण भएको बताए । भोजभतेरमा खटिएका भान्सेले शुद्ध सेतो बस्त्र पहिरिएर खटेको, खानपिनका क्रममा सालको पातको बास्नादार टपरीमा खानपिन गर्न पाउदा आफूलाई पनि हर्ष लागेको बताए ।

पछिल्लो समय टपरी प्रयोगमा नआउने मात्र नभई सालको पातबाट बनाइने टपरी, दुना, बोहोता बनाउन पनि कमैले मात्रै जान्ने हुँदा यसको इतिहास नै सङ्कटमा पर्न थालेको छ । प्लाष्टिक र कागजका सामानको स्थानीय बजारमा माग बढ्न थालेपछि यस्ता टपरीजन्य सामान लोप हुन थालेका हुन् ।

टपरीको प्रयोग खास गरी पूजापाठलगायत धार्मिक अनुष्ठानमा हुने गरेको भए तापनि अहिले त्यसको प्रयोगमा निकै कमी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्