१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध



काठमाडौं,फागुन १ । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा शुक्रवार हस्ताक्षर गरेका हुन् ।

दुवै राजदूतले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रवार नै हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले शनिवार बताएको छ । त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसंघीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान–प्रदान गरेका थिए ।

प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो । तेह्र लाख ७० हजार जनसंख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसंघको १९१औं सदस्यको रूपमा प्रवेश पाएको हो । नेपाल र टिमोर–लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्