निवर्तमान महानिर्देशक क्षेत्री प्राधिकरण फर्किने
काठमाडौं,फागुन २ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीलाई प्राधिकरणमा फर्कन बाटो खुलेको छ । सर्वाेच्च अदालतले आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएपछि क्षेत्री प्राधिकरणमा फर्किन सक्ने भएका हुन् । आइतवार सर्वोच्चले पुस २३ गतेको अनिवार्य अवकाश सम्बन्धी पत्र कार्यान्वयन नगरी यथास्थितिमै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले उनलाई हटाउने तथा अनिवार्य अवकाश कार्यान्वयन नगर्न यस्तो आदेश दिएको छ । उनको इजलासले दुवै पक्षका बीचमा छलफल गर्न फागुन ९ गतेका लागि पेशी तोकेको छ । पक्ष र विपक्षका बीचमा छलफल भई टुंगो लगाउने भन्दै सर्वोच्चले उक्त दिनलाई पेशी तोकेको हो ।
निवर्तमान महानिर्देशक क्षेत्रीले सर्वोच्चको आदेशअनुसार नै सोमवार कार्यालय गएर हाजिर गर्ने र प्रशासनलाई कामका लागि जानकारी गराउने बताए । ५८ वर्षको उमेर हदका कारण अवकाश पाए पनि उनले सरकारले प्राधिकरणको महानिर्देशकमा सरकारले ४ वर्षका लागि नियुक्ति दिएको भन्दै सर्वाेच्च अदालतमा निवेदन दिएका थिए ।तत्कालीन महानिर्देशक राजन पोखरेलले अवकाश पाएपछि सरकारले उनलाई गत कात्तिकमा महानिर्देशकको रूपमा नियुक्त गरेको थियो । तर, सरकारले उनको कार्यकाल नबढाई माघ १७ गते प्राधिकरणकै गौरवको आयोजनाका निर्देशकसमेत रहेका प्रदीप अधिकारीलाई नयाँ महानिर्देशकको रूपमा नियुक्त गरेको थियो ।

