आज प्रणय दिवस



काठमाडौ,फागुन २ । प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा, भाई बहिनी, आफन्त, नातागोताबीच पनि प्रेम हुन्छ । तर, नवयौवनावीच खासगरी बिपरित-लिंगीमा हुने मानसिक आकर्षण र समपर्णभावलाई प्रेम भनेर बुझिएको छ । यस्तो प्रेममा त्याग हुन्छ ।

नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।

प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् । त्यहाँ न जातले छेक्छ, न भूगोलले रोक्छ । न धनले अड्चन ल्याउँछ, न रुपले तगारो लगाउँछ ।

तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्‍याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।

भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।

एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज  हाफ डन ।’

अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?

निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।

यस्तो छ मनाउनको कारण

आज प्रणय वा दिवस ( अङ्ग्रेजी: valentine”s day) विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्