चितवन राष्ट्रिय निकुञ्ज: फेरि भेटिए मृत दुईवटा गैंडा



चितवन,फागुन ४ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी नवलपरासी क्षेत्रको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बच्चा सहित दुई गैंडा मृत भेटिएका छन् । बुधबार दिउँसो स्वीपआउट गर्ने क्रममा हात्ती सहितको निकुञ्जको टोलीले मृत माउ र बच्चा गैंडा फेला परेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृतावस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको छ ।

‘बाघले बच्चाबाट अलग्याउन माउलाई आक्रमण गर्यो, माउले बच्चालाई बचाउन खोज्यो । त्यसपछि बच्चालाई बाघले मारेको हुन सक्छ । यसबारेमा थप बिवरण आउंँछ ’ आचार्यले भने । बच्चा गैंडाको कतिपय अंग खाएको अवस्थामा फेला परेको छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्