बाँकेमा बाघ र वकिलबीचको लडाई, जित हासिल गरे वकिलले



बाँके,फागुन ८ । बाँकेमा आइतबार वकिल र बाघबीच घम्साघम्सी परेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन ।

स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताए ।

उनका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उनलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उनि बेहोस भए । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको उनले बताए ।

बाघले उनको घाटीको अगाडी र पछाडी दुबैतिर प्वाल पारेको छ । स्थानीयको सहयोगमा अहिले उनको भेरी अस्पताल नेपालगन्जको आकस्मिक कक्षमा उपचार भईरहेको छ । अस्पताल पुगेपछि मात्र उनको होस खुलेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्