नुवाकोट पञ्चकन्याको कृषि क्षेत्रमा नौलो अभ्यास, १७ हजार तर्बुजा लगाइदै



नुवाकोट,फागुन ९ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको कृषि क्षेत्रमा नौलो अभ्यासको थालनी भएको छ । गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न स्थानमा तर्बुजा खेती गरिने भएको हो । आलु खनेर केहि समय फुर्सद हुने किसानलाई तर्बुजा खेतीको कौतुहलताले सर्लक्कै आकर्षित गरेको छ ।

यस खेतीका लागि गाउँपालिकाले समेत छुट्टै तयारीमा लागेको वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए । अध्यक्ष लामिछानेका अनुसार किसानको माग अनुसार तर्बुजाको बिउँ उमार्न लागिएको हो । किसानको मागलाई मध्यनजर गर्दै हाललाई पञ्चकन्या वडा नम्बर १ बानियाँटारमा १७ हजार ५ सय तर्बुजाको बिउँ उमारिएको किसान र स्थानीय सरकार बीच समन्वय गर्दै आइरहेको सहयोगी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्रका कृषि अधिकृत पवन प्याकुरेलले बताए ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का समथर तथा बलौटे माटोमा तर्बुजा राम्रो हुने आकलन गरिएको सहयोगी संस्थाका कृषि अधिकृत प्याकुरेल बताउँछन् । गाउँपालिकाले वस्तुतः पञ्चकन्या तथा तादी गाउँपालिकाको बगर क्षेत्रमा समेत परिक्षण स्वरुप पहिलो वर्ष सो संख्या उत्पादित तर्बुजाको बिरुवा लगाउने तयारी किसानले गरेका छन् ।

संस्थाका अधिकृत प्याकुरेलका अनुसार छरिएको तर्बुजाका ९९ प्रतिशत बिउँ उम्रीएका छन् । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १,२ र ५ मा रहेको बगर क्षेत्रका झण्डै १०० रोपनी क्षेत्रमा उत्पादित तर्बुजाको बिउँ लगाइने भएको हो ।

नर्सरीका लागी सहयोगी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्रले सतप्रतिशत लगानीमा उमारिएको बिउँ अबको केही हप्तान्तमा रोपिनेछ । हालसम्म ७० जना कृषक तर्बुजा लगाउन  उत्साहित बनि लागिपरेका छन् । आलु खनेपछि टाइचिन धान उत्पादनमा आउने  सुरक्षा, भण्डारण, बजार ब्यवस्थापनकाे समस्या न्युनीकरणका लागि तर्बुजा खेती अगाडि बढाइएको सहयोगी संस्था ग्रामीण स्वावलम्बन विकास केन्द्रले अपेक्षा गरेको छ ।

सुरुमा नाफाघाटाको जोड घटाउमा लागेका किसान उत्पादित तर्बुजा गाउँपालिका र सहयोगी संस्थाले गरिदिने भनेपछि थप उत्साहका साथ लागि परेको किसान अम्बर राइले साझापथलाई बताए । आउँदो सातादेखि किसानले तर्बुजाको बेर्ना सार्न लागि पर्नेछन । बेर्ना सारिएको दुई महिनादेखि तर्बुजा फल्न थाल्ने सहयोगी संस्थाका कृषि अधिकृत प्याकुरेल बताउँछन् । प्रति रोपनी  एक सय बिरुवा रोप्न सकिने एउटै तर्बुजा ४ देखि ५ केजी सम्म फल्ने अधिकृत प्याकुरेलले बताए ।

तर्बुजाको यस्ता छन् फाइदै फाइदा :

-तर्बुजाको सेवनले पेटको जलनलाई हटाउनुका साथै पेटको क्यान्सरलाई पनि कम गर्दछ ।
–हृदयरोग र मधुमेहको रोगीहरुको लागी पनि तर्बुजा अमृतसमान हुने गर्दछ ।
–यसको प्रयोगले कोलेस्टोललाई हटाई रगतलाई पनि सफा राख्ने गर्दछ ।
–यदि तपाईलाई भोक लाग्दैन र खाना खाने बितिकै बान्ता हुन्छ भने भोजन गर्नुभन्दा एक घण्टा अगाडि ५० ग्राम तर्बुजाको रसमा थोरै चिनी र कागतीको रस मिसाएर खाँदा  भोक नलाग्ने समस्याबाट छुटकरा पाउँन सकिन्छ ।
–पायल्सका बिरामीहरुका लागि पनि यसको सेवन लाभदायक हुन्छ ।
–तर्बुजाको सेवनले शरीरमा हुने रगतको कमी हुनबाट बचाउँन्छ ।
–रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई पनि बढाउन तर्बुजाको सेवन अनिवार्य छ ।
–तर्बुजा खानाले जन्डिस, पिसाब नली र पिसाब थैलीको समस्यालाई पनि फाइदा हुने गर्दछ ।
–शरीरको तौल घटाउन पनि तर्बुजाले ठुलो सहयोग गर्दछ ।
–गर्मीमा लु लाग्ने समस्याबाट पनि यसको सेवनले छुटकरा पाउँन सकिन्छ ।
–तर्बुजाको प्रयोगले शरीरमा शितलता दिनुका साथै आँखाको रोशनीलाई बढाउँछ ।
–तर्बुजालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा अनुहारलाई सुन्दर र चम्किलो बनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्