सुस्ताबासीलाई सीमा रक्षकको सम्मान दिनुपर्छ : मन्त्री झाँक्री



सुस्ता,फागुन ११ । संघीय सरकारकी सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले सुस्ताका नागरिकलाई नेपाली भएको अनुभुती गराउनुपर्ने बताउनुभएको छ । सुस्ता गाउँपालिका वडानम्बर पाँच सुस्तामा सघन सहरीबिकास कार्यालयले निर्माण गरेको सडकको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सुस्ताबासीलाई सीमा रक्षकको रुपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

सुस्ता क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेतृत्वले सबैभन्दा धेरै नागरिकताको कुरा उठाए पनि सुस्ता बासी नागरिक नै नागरिकता विहिन हुनु दुखद भएको उहाँको भनाई रहेको थियो । नेपालमा नागरिकता र लालपूर्जा को विषय सजिलै समाधान हुने विषय नभएकोले त्यसका लागि विशेष व्यवस्था गरेर भए पनि सुस्ताबासीका समस्या समाधान गर्न पहल हुनुपर्नेमा उहाँको जोड रहेको थियो । विगतको तुलनामा हाल सुस्तामा धेरै विकास भएको र अवको दुई वर्षमा अझै बढी विकसित हुने र सुस्ताबाट पलायन भएका हरु फेरी फर्किने अवस्था आउने झाँक्रीले बताउनुभयो ।

सुस्तामा सीमा सुरक्षाको लागि रहेको सशस्त्र प्रहरीको शुरक्षा पोस्टको लागि आवश्यक भवन निर्माण गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य देवेन्द्र राज कँडेलले सीमा समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागी दुवै देश बाट पहल हुनुपर्ने बताउनुभएको थियो । कंडेल ले जतिसक्यो छिटो सीमाको समस्या सुल्झाएर सीमांकन गरी नागरिकहरूले भोगचलन गरेको जग्गाको नाप नक्सा गरी स्वामित्व दिनुपर्ने धारणा राख्नुभएको थियो । गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले सुस्तामा स्थानीय सरकार आएपछि धेरै विकास भएको बताउनुभयो । सुस्ता बासीको नागरिकताको समस्या समाधानका लागि विशेष क्षेत्र घोषणा गरेर एक हप्ता टोली नै खटाएर नागरिकता प्रदान गर्न माग गर्नु भयो । सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले सुष्टाबासीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्