भेरी–बबई डाइभर्सन आयोजना : बाँधस्थल निर्माण तीव्र



सुर्खेत,फागुन १२। नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोग गरिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्य आयोजना बाँधस्थल निर्माणले गति लिएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा राखिएको यस डाइभर्सन निर्माणको तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल सम्बन्धी कार्यहरू शुरू भएसँगै बाँधस्थल निर्माणको कामले गति लिएको हो । आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी कामका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनीयरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख रुपैयाँमा सम्झौता गरेको छ ।

अहिले सिभिलअन्तर्गत हेडवकर््स, विद्युत् गृह र सर्ज साफ्टको काम भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए । उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेन्डर भएर छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए ।

उनका अनुसार अप्रत्याशित वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट बाहिर निकाल्ने काममा केही समय व्यवधान पुगे पनि हाल तीव्र रूपमा काम अघि बढिरहेको छ । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनका साथै सर्ज साफ्ट निर्माण क्षेत्रमा पाइलिङ कार्य भइरहेको छ,’ उनले भने, ‘काम जतिसक्दो छिटो सक्न दिनको तीन सिफ्टमा काम भइरहेको छ ।’
उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए । आयोजनाको हालसम्म वित्तीय प्रगति ३९ दशमलव ८० तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत भएको छ ।

सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये माघ मसान्तसम्म ५५ करोड ५७ लाख २५ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/८० मा सक्ने कार्यादेश पाएको छ । गत मङ्सिरमा संघीय मन्त्रिपरिषद् बैठकले २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेसँगै आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवादसमेत टुंगिएको सूचना अधिकारी सुवेदीले बताए । उनले आयोजना प्रभावित क्षेत्रका छुटेकालाई हाल क्षतिपूर्ति दिने कार्य प्रक्रियामा रहेको जानकारी दिए ।

उत्साहजनक प्रगति
आर्थिक वर्ष २०६८/६९ मा भेरी बबई डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाइभर्सनको भौतिक प्रगति सन्तोषजनक देखिन्छ । कोभिड–१९ र अन्य अवरोध आए पनि आयोजना तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नेगरि काम अघि बढाएको आयोजना प्रमुख हरिनारायण यादवले बताए । उनले चालू आर्थिक वर्षको पछिल्लो ७ महीनामा आयोजनाको ५३ दशमलव ५ प्रतिशत भौतिक प्रगतिलाई उत्साहजनक मान्न सकिने जिकीर गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्