व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरे एमसीसी खारेज हुनुपर्ने पक्षमा एकीकृत समाजवादी



काठमाडौं,फागुन १५ । सत्ता साझेदार गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतासँगै पारित गर्न लागिएको व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार नगरे एमसीसी नेपालबाट स्वतः खारेज हुनुपर्ने माग अघि सारेको छ।

समाजवादीको आइतवार बसेको स्थायी समिति बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सहायता संसद्‌बाट अनुमोदन गर्न सकिने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव विजय पौडेलले जानकारी दिए।

“व्याख्यात्मक टिप्पणीसहित यसलाई एमसीसीको अङ्ग बनाउने र अमेरिकी पक्षले पनि स्वीकार गर्‍यो भने ठिक छ। स्वीकार गरेन भने स्वतः खारेज हुने गरी हाम्रो अडान रहन्छ भन्ने हामीले निर्णय गर्‍यौँ,” पौडेलले भने।

उनका अनुसार यसअघि एमसीसीबारे उठाइएका विभिन्न ११ वटा बुँदामा रहेका प्रावधानमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न माधव नेपाल नेतृत्वको समाजवादी दल सहमत भएको छ।

जसमा एमसीसी आर्थिक अनुदान मात्रै रहने, आइपीएसको अङ्ग नहुने, परियोजना स्थलको जमिनको सार्वभौमसत्ता नेपालकै हुने र पारित गरिएको व्याख्यात्मक टिप्पणी सम्झौताको अङ्ग हुने कुरा समावेश हुनुपर्ने समाजवादीको माग रहेको पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्