नुवाकोटको घ्याङफेदी बस्ती माथीको ढुङ्गा हटाउन एक करोड लाग्ने अनुमान



नुवाकोट,फागुन २२ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँ बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)लाई हटाउन झण्डै १ करोड लाग्ने अनुमान गरिएको छ।नेपाली सेनाको जबरजङग गणका ३५ जना सेनाले ढुङ्गा फुटाउने र हटाउने कार्यले तिव्रता दिलाएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । वर्षा याम नलाग्दै नेगीवासीलाई तर्साउने सो ठुलो ढुङ्गा गाउँपालिकासँगको सहकार्यमा नेपाली सेना र प्राविधिक टोलीको स्थलगत अध्ययन पश्चात् फुटाउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । ढुङ्गालाई सेनाका ६ जनाले विस्फोटक पदार्थको समेत प्रयोग गरी फुटाउन लागिएको छ। सो अजङ्गको ढुङ्गा हटाउन चाहिने सामग्री खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि रु. एक करोड लाग्ने अनुमान गरिएको हो ।

त्यसको लागि सङ्घीय सरकारले रु. २५ लाख, बागमती प्रदेश सरकारलाई रु. २० लाख र दुप्चेश्वर गाउँपालिकाले रु. ४० लाख उपलब्ध गराइसकेको छ । “अहिले अनुमान गरिएको बजेट ढुङ्गा फुटाउन र सो क्रममा हुनसक्ने दुर्घटनाबाट स्थानीयवासीलाई जोगाउन अस्थायी टहरा निर्माण गरेर स्थान्तरणको लागि खर्च गरिने छ”, अध्यक्ष तामाङले भन्नुभयो, “ढुङ्गालाई विस्फोट गराउँदा उछिट्टिएर बस्तीका अधिकांश घर क्षति पुग्नसक्ने देखिएको त्यसको पुनर्निर्मणको लागि अतिरिक्त बजेट आवश्यक पर्दछ । ”

जनप्रतिनिधिको नियमित अनुगमन

विसं २०७२ वैशाख १२ मा गएको शक्तिशाली भूकम्पले डगमगाएको ढुङ्गा क्रमशः बग्ने क्रममा पाँच वर्षपछि आफ्नो स्थान छाड्न सुरु गरेको हो । विसं २०७७ भदौ दोस्रो साता परेको वर्षातले ढङ्गाले जग सतह छाडेसँगै स्थानीयवासीलाई सुरक्षित बनाउने काम १८ महिनापछि सुरु भएको हो । नेगीबस्तीलाई ढुङ्गाले जोखिम बनाएसँगै विसं २०७७ भदौमा उक्त क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङ, प्रदेशसभा सदस्यमा निर्वाचित बागमती प्रदेशको उपसभामुख राधिका तामाङले राहत र सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाउन प्रयास गरिएको थियोे ।

गाउँपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला सबैले नियमित अनुगमन गरेका छन् । सबै पक्षको प्रयासले ढुङ्गा हटाउन सङ्घीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापनदेखि नेपाली सेनालाई जिम्मेवारी दिन निरन्तरको पहलले काम अघि बढेको हो । सैनिक टोलीले ढुङ्गा हटाउन सुरु गर्न लागेसँगै आवश्यक सहयोगको प्रतिबद्धता तथा प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार सोही स्थानमा पुगेर चासो राखेका थिए ।

जोखिम बस्तीका करिब २५० जनालाई सुरक्षित बासस्थान बनाएसँगै त्यहाँ चाहिने खानेपानी, विद्युत, शौचालय, आउजाउ गर्न सहज बाटो, बालबालिकाको पढाइलगायतका गतिविधि सहज बनाउन आवश्यक रहेको नेता महतले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्