बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो, घाइतेलाई धरान लगियो
संखुवासभा,फागुन २६ । मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि धरान लगिएको छ । सेनाको हेलिकोप्टरबाट पाँच जना घाइतेलाई धरान लगिएको हो ।
युवा पोखरेल, सुवास गोले, तुलसा कटुवाल, करिष्मा तामाङ रडम्बर कार्कीलाई उपचारका लागि धरान लगिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक १४ जनाकै सनाखत भएको छ । मृत्तकको शव पोष्टमार्टमका लागि चैनपुर, अस्पताल लगिएको छ ।
मृत्यु हुनेमा सीता विक, अञ्जना कटुवाल, भवानी प्रसाद दाहाल, इन्द्र अधिकारी, दीक्षा कटुवाल, बलबहादुर कार्की, सविता कार्की, दीपक दाहाल, श्याम शेर्पा, आइतबहादुर तामाङ र उमेश भटराई रहेका छन् । उमेश बसको सहचालक हुन् । सवारी चालक विपिन निरौला, ताप्लेजुङ घर भएका समीक्षा योञ्जन र सुदिप घिसिङको पनि घटनास्थलमै नै ज्यान गएको हो ।
बिहीबार बिहान मादीबाट झापाको दमक हिँडेको बस सडकबाट करिब ४ सय मिटर तल खसको थियो । उक्त बसमा चालक दलसहित १९ जना सवार थिए ।

