मेलम्ची आयोजनाको मर्मत ६० प्रतिशत सम्पन्न
चैतभित्र उपत्यकामा पानी लैजाने तयारी
सिन्धुपाल्चोक,फागुन २७ । गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रूपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकेको उनले बताए ।
अस्थायी रूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको कुँवरले जानकारी दिए । गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरू भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडानको तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुंगा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्ममा पानी काठमाडौं पठाउन सकिने समितिले जानकारी दिएको छ ।
गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्ममा काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिक रूपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर वर्षा लागेसँगै पुन: चार महीना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।
मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशियाली विकास बैंक (एडीबी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए । सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान हटाइसकिएको भन्दै कुँवरले ब्लास्टिङको अन्तिम चरणमा पुगेको बताए । ब्लाष्टिङबाट निस्केको गेग्रान बाटो निर्माण र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए । आर्थिक अभियानबाट

