संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न आग्रह
विराटनगर,चैत १। मोरङ व्यापार संघले संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाउँदा बजारमा रकम आउने भन्दै संस्थागत बचतलाई चलायमान बनाउन माग गरेको छ । हाल संस्थागत मुद्दती निक्षेपमा ब्याजदर १० प्रतिशतभन्दा बढी रहेकोमा यसलाई घटाएर ६ प्रतिशतमा ल्याउन संघले माग गरेको छ । यस सम्बन्धमा संघले सोमवार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयको प्रांगणमा सहायक प्रजिअ महेश तिम्सिनाले ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्र बुझ्दै सहयक प्रजिअ तिम्सिनाले आफूले उक्त पत्र सम्बन्धित निकायमा पुर्याउने वाचा गरे । यसअघि संघले गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीन रिजालले देशका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, बुटवल, बिर्तामोडलगायत मुख्य व्यावसायिक स्थानका उद्योग वाणिज्य संघसँग मिलेर आन्दोलनका कार्यक्रम गर्ने बताएका थिए ।
‘सरकारले पूँजीगत खर्च गरेको छैन, अहिलेसम्म २० प्रतिशत खर्च भएको छ,’ उनले भने, ‘अर्कातिर कुल निक्षेपको ४४ प्रतिशत अर्थात् १८ अर्बजति संस्थागत निक्षेप छ । यसमा १० प्रतिशतभन्दा बढी ब्याज दिइएको छ । यो अनुत्पादक क्षेत्रमा गरिएको लगानी हो । यसबाट जीडीपीमा पनि वृद्धि हुँदैन । त्यसैले यसलाई ६ प्रतिशतमा ल्याउनुपर्छ ।’
संघका पूर्वअध्यक्ष महेश जाजूले संघको टोलीले आइतवार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेपछि तरलता अभाव र ब्याजदर वृद्धिको विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नभएको निष्कर्ष निकालेको स्पष्ट पारे ।
भारतमा दुई–तीन वर्षअघि भएको १४ प्रतिशत ब्याजदर ७ प्रतिशतमा झरिसकेको, तर नेपालमा ७ बाट १४ मा पुग्न लागेको गुनासो उनले गरे । ‘यस्ता अवस्थामा हामी भारतीय उत्पादनसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौं ?’ उनले प्रश्न गरे ।
संघका अर्का पूर्वअध्यक्ष पवनकुमार शारडाले केही समयअघि विराटनगर आएको समयमा गभर्नर महाप्रसाद अधिकारीले बैंकको नाफा नबढेकोमा चिन्ता व्यक्त गरेको भन्दै गभर्नरप्रति रोष प्रकट गरे । गभर्नरलाई बैंकको नाफामा मात्र चिन्ता भएको, तर ब्याज बढेर उद्योग चलाउन नसक्ने अवस्थाप्रति कुनै चासो नभएको आरोप समेत उनले लगाए । यस्तै संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशतमा नल्याइएसम्म ब्याजदरको आन्दोलन जारी राखिने बताए । आर्थिक अभियानबाट

