न्यू खिम्ती सब- स्टेशनको निर्माण कार्य सकियो, प्रधानमन्त्रीले शनिवार उद्घाटन गर्ने
काठमाडौं,चैत ४ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको प्रसारण लाईन तथा न्यू खिम्ती सब- स्टेशनको औपचारिक उद्घाटन शनिवार हुने भएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार त्यहाँ पुगेर सब- स्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । २२०/ १३२ केभी क्षमताको उक्त सब- स्टेसन केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सबस्टेसन हो ।
स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट(मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/ १३२ केभीको सब- स्टेसन निर्माणको काम पुरा भएको हो ।
मन्थली नगरपालिका- १३ स्थित देविटारमा निर्मित सब- स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०/ १३२ केभी, १०० एमभिएको ट्रन्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट काठमाडौं पनि जोड्नेछ ।
न्यू खिम्ती सब- स्टेशनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ । यस्तै ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।
रामेछाप तथा दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माण सम्पन्न हुने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले उक्त सबस्टेशन हब सबस्टेशनका रूपमा विकास हुने प्राधिकरणले बताएको छ ।
कुल २ अर्ब १२ करोड रुपैयाँमा लागतमा सम्पन्न गर्ने गरी उक्त सब- स्टेनशनको भारतीय निर्माण कम्पनी केइसी इन्टरनेशनलसँग सन २०१३ को जनवरिमा ठेक्का सम्झौता भएको थियो ।
देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सब- स्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ । ढल्केबरपछिको यो दोसो ठूलो सब-स्टेशन भएको प्राधिकरणको भनाइ छ ।

