पञ्चकन्या घ्याङस्वारा पार्कमा टोखाका मेयर अधिकारीको भ्रमण, अध्यक्ष तामाङले गरे भव्य स्वागत
नुवाकोट, चैत ४ । टोखा नगरपालिका काठमाडौँका मेयर प्रकाश अधिकारीको नेतृत्वमा गएको एकटोलीले पञ्चकन्या गाउँपालिका, नुवाकोटको अवलोकन भ्रमण गरेको छ । भ्रमण टोलीलाई भव्य स्वागत गर्दै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले गाउँपालिकाको विकास निर्माणको समग्र स्थिति, भइरहेको कामहरू, हालसम्मका प्रगतिहरू आदिका बारेमा भ्रमण टोलीलाई जानकारी गराएका थिए ।
गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ्ग (रमेश) को निमन्त्रणामा त्यस स्थानमा पुगेको टोलीले तत्पश्चात् गाउँपालिकाको कार्यालय रहेको लाकुरीभञ्ज्याङ्गबाट करिब ५.५ कि.मि. पूर्वतर्फ घ्याङ्स्वाँरामा निर्माणाधीन मनोरञ्जन पार्कको पनि भ्रमण गरेको थियो । निर्माणाधीन उक्त घ्याङ्स्वाँरा पार्कको करिब १५० रोपनी जग्गामा खेलकुद मैदान (फुटबल, क्रिकेटलगायत), वनभोज स्थल, मन्दिर, शान्तिवाटिका, भ्यूटावर, जीपलाइन, पाहुना घर आदि रहने कुरा अध्यक्ष तामाङले बताए । गाउँलाई गुराँसको गाउँको नामले चिनाउने उद्देश्यले पार्कभित्रको एउटा डाँडामा गुराँस मात्र लगाउने र शान्तिवाटिकामा जनआन्दोलनको क्रममा उक्त गाउँपालिकाभित्रबाट सहिद भएका १३ जनाको शालिक राख्ने पनि उनले जानकारी गराए । पार्क वरिपरिका खोला, खोल्सा, पानीका मुहानहरूलाई प्राकृतिक स्वरूपमा नै छोडी फोहोरहरूको उपयुक्त व्यवस्थापन गरिने पनि अध्यक्षले बताए । दुई वर्षभित्र निर्माण सम्पन्न गरिसकिने लक्ष्य रहेको उक्त योजनामा करिब ५० करोड लाग्ने अनुमान रहेको पनि बताए । ‘हाल प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको रु.४९ लाख, पर्यटन मन्त्रालयबाट रु.४० लाख, प्रदेश सरकारबाट रु. ३० लाख र गाउँपालिकाबाट प्राप्त रु. १३ लाख रकमले केही काम भइरहेको र बाँकी रकम सबै जोहो गर्नुपर्नेछ’, अध्यक्ष तामाङ्गले भने, ‘मेरो काम सबै पारदर्शी र जवाफदेही छन्, हालसम्म करिब ३ करोड खर्च भइसकेको छ, आँटेको छु, कसो काम सम्पन्न नहोला र ! दुई वर्षभित्र सम्पन्न गर्न म दृढताका साथ लागेको छु, ।’
मेयर अधिकारीसँगको कुराकानीमा अध्यक्ष तामाङले जिल्लाकै नमुना गाउँपालिका भवन निर्माण भैरहेको बताउँदै गाउँमा रहेका कच्ची, ग्राभेल र पक्की (पिच गरिएका) आदि सडकहरूका बारे बताउँदै त्यस अवसरमा उनले गाउँपालिकाको कृषि, पर्यटन, सिँचाइ, खानेपानी आदिका बारेमा पनि जानकारी गराएका थिए । अवलोकनको क्रममा आफ्नो संक्षिप्त प्रतिकृया राख्नुहुँदै टोखा नगरपालिका प्रमुख अधिकारीले सहकार्य र साझेदारीमा धेरै काम गर्न सकिने बताउदै प्रकृतिकको अनुपम उपहार यस स्थानमा आफुले पाएको न्यानो स्वागतको लागि धन्यवाद व्यक्त गरेका थिए । मेयर अधिकारीले हामीले आफ्नो नीजी स्वार्थभन्दा जनताको हित र स्वार्थको लागि काम गरिरहेका छौँ, जनताको आशा र विश्वास हामीमाथि हराइसकेको छैन भने । मेयर अधिकारीले आफ्ना सही योजना र राम्रा कामहरूलाई जनतासम्म पुरयाइदिन भ्रमण टोलीका लेखक, कविहरूलाई आग्रह पनि गरे ।
धार्मिक, सामाजिक र विकास–निर्माणको अध्ययन, अवलोकन गर्ने उद्देश्यले गरिएको भ्रमण टोलीमा लेखक, कविहरूको साथै जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । भ्रमणमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नं. ११ का सदस्य महेश थपलिया, कवि रेणु अधिकारी मौनता, पत्रकार उमेश पाण्डे, कवि घन थापा, कवि तारा के.सी., सामाजिक अभियन्ता पार्वती थपलिया र चालक रविन्द्र श्रेष्ठको सहभागिता रहेको थियो । अवलोकनको क्रममा पार्क निर्माण समितिका पदाधिकारी तथा सदस्यहरू, वडा अध्यक्षहरू, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको साथै स्थानीय जनसमुदायको पनि उपस्थिति रहेको थियो ।
तस्बिरमा हेरौं






