बुटवलमा मनाइयो रंगभेद उन्मुलन दिवस: छुवाछुत समुन्नत समाजको बाधक
बुटवल,चैत ७ । जातीय भेदभाव तथा छुवाछुत कायम रहेसम्म समुन्नत र न्यायपूर्ण बन्न नसक्ने अधिकारकर्मीहरुले बताएका छन् । ५७ औं जाती तथा रंगभेद उन्मुलन दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही, जागरण मिडिया सेन्टर र राज्य टेलिभिजनद्वारा सोमबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले छुवाछुत शान्ति, न्याय र सम्मुन्नत समाजको बाधक रहेको बताएका हुन् ।
शान्ति र सम्मुन्नतीका लागि सामाजिक न्यायको प्रत्याभूती विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले विभेद रहित समाजमा मात्रै शान्ति कायम हुने भएकाले मानव सभ्यताको कलंकको व्यवहारमै अन्त्य गर्नुपर्ने बताए । उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए । उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथी अपराध गरेको बताए । विभेद रहित समाज बनेमात्रै समाजमा शान्ति, समुन्नती र सामाजिक न्यायको प्रत्याभूती हुने सभापती खनालको भनाई छ ।
कार्यक्रममा अधिवक्ता पदम कार्कीले कानुनी रुपमा नेपाल विभेद रहित देशका रुपमा चिनिएपनि व्यवहारिक रुपमा विभेद अन्त्य नहुनु मानवताकै लागि लज्जित विषय भएको बताए । उनले बुटवललाई २०५८ सालमै छुवाछुतमुक्त नगरका रुपमा घोषणा गरिएपनि विभेद अन्त्य नभएकाले अब मानवताको सुन्दर बुटवल बनाउने संकल्प गर्ने दिन आएको बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जातका आधारमा गरिने विभेदलाई संवेदशील मुद्दाका रुपमा लिएको बताउँदै विभेद गर्नेलाई उन्मुक्ति नहुने बताए । उनले आफू रुकुम पश्चिममा हुँदा पनि नवराज विकसहितका ६ जनाको मृत्युको घटनामा संवेदशील मुद्दाका रुपमा अघि बढाएको बताए ।

