लेटाङ घटनाप्रति प्रदेश नम्बर १ सरकारद्वारा दुःख व्यक्त
विराटनगर,चैत ७ । मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको घटनाप्रति प्रदेश नं. १ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नं. १ सरकारका यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दैै घटनाले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
मन्त्री घिमिरेले प्रदेश नं. १, मोरङ जिल्ला क्षेत्र न.१(ख) अन्तर्गत लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा मिति २०७८ चैत्र ६ गते आइतबार घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तब्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका हुन् । मिति २०७८ चैत्र ४ गते शिक्षा विकास मा.वि.का एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको भनिएको घटना वास्तविक न्याय पाउने दिशामा अघि बढिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य, आततायी घटनाको जति निन्दा गरे पनि कमै हुने उहाँले उल्लेख गरेका छन् ।
मन्त्री घिमिरेले केही अराजक व्यक्तिहरूको भीडले घटनालाई हिंसातिर मोड्ने मनसायले शिक्षकहरूमाथि आक्रमण, विद्यालय तोडफोड, आगजनी गर्न सुरु गरेकाले भीड नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीहरू जिम्मेवारीका साथ खटिएको स्पष्ट पारेका छन् ।
‘एउटी चेलीलाई न्याय दिलाउन गरिएको आन्दोलनलाई नै शान्तिपूर्ण बनाउन र नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिन खटिएकी एक होनाहार राष्ट्रसेवक सुरक्षाकर्मी गुमाउनुपर्दा अत्यन्त दुःखित भएको छु’ मन्त्री घिमिरेले भनेका छन् । उनले न्यायपूर्ण आन्दोलनलाई नै हिंस्रक बनाउन र बदनाम गर्नका लागि गरिने यस्ता घुसपैठप्रति सजग हुँदै जुनसुकै प्रकारका न्यायिक आन्दोलनलाई आपराधिक तत्वबाट मुक्त राख्न सबैमा हार्दिक अपिल पनि गरेका छन् । ‘नागरिकको शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीहरूमाथि नै ढुंगामुढा प्रहार गर्ने र अझ हत्यासम्म गर्ने घटनामा संलग्न जो कोही भए पनि तिनलाई कानूनी दायरामा ल्याउनका लागि सहयोग गर्न सबै सामाजिक संघसंस्था, राजनीतिक दल तथा व्यक्तिहरूमा म हार्दिक आह्वान गर्दछु’ मन्त्री घिमिरेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

