रेल सञ्चालनको मिति छिट्टै तोकिने



भारतबाट थप १२ प्राविधिक आउँदै

काठमाडौं,चैत ११ । नेपालले करीब १ अर्ब रुपैयाँमा किनेका रेल चल्न नसकेका बेला रेलवे अध्यादेश–२०७८ राजपत्रमा प्रकाशित भएसँगै सञ्चालनका लागि कानूनी बाटो खुलेको छ । सोही अनुसार नेपाल रेलवे कम्पनी लिमिटेडले रेल चलाउन छिट्टै मिति तोकिने जानकारी दिएको छ । जनकपुर–जयनगर रेलमार्गमा सञ्चालन गर्न १९ महीनाअघि ल्याइएका दुई सेट रेल अहिले यात्रुविना नै चलेका छन् ।

मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले रेलवे अध्यादेश–२०७८ जारी गरेपछि बुधवार मुद्रण विभागले यो अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अध्यादेशसँगै कानूनी बाटो खुलेको र छिट्टै यात्रुसहितको रेल चल्ने दाबी गरे । संसद्बाट ६० दिनभित्र अध्यादेश पास हुने अपेक्षा गरिएको भन्दै उनले तत्कालका लागि कानूनी बाटो खुलेको उल्लेख गरे ।

‘अब हामीले रेल चलाउने तयारी गरेका छौं,’ उनले भने ‘रेलको औपचारिक उद्घाटनका लागि २/३ दिनभित्रै मिति सार्वजनिक गर्नेछौं । अहिले आर्थिक र कानूनी समस्या पनि नहुँदा रेल चलाउन कुनै बाधा छैन, सबै तयारी पूरा भएको छ ।’ खासगरी रेल चलाउँदा हुन सक्ने दुर्घटना, मानवीय क्षति, जोखिम वहनका साथै यात्रु भाडादर, मालसामान ढुवानी भाडादर लगायतको कानूनी रूपमै व्यवस्था नहुँदा रेल सञ्चालनमा अन्योल हुँदै आएको थियो ।

रेल चलाउन सरकारले यसअघि पनि दुईपटक अध्यादेश ल्याएको थियो । तर ती अध्यादेश पारित नहुँदा रेल चलाउने कानूनी व्यवधान हटेको थिएन ।

कम्पनीसँग अहिले कर्मचारी ५८ कर्मचारी छन् । रेल चलाउन भारतबाट २६ जना प्राविधिक ल्याउने भनिए पनि तीमध्ये अहिले १४ जना आइसकेका छन् । यस्तै थप १२ जना प्राविधिक नेपाल आउने क्रममा रहेको झाले बताए ।

प्रतिक्रिया दिनुहोस्