निजीक्षेत्रको साथ र विश्वास सहित अघि बढ्छौं : अर्थमन्त्री



काठमाडौं,चैत ११ । अर्थमन्त्री जनार्दन शर्माले निजीक्षेत्रको साथ र विश्वास लिएर सरकार अघि बढ्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शका प्रतिनिधिको सुझाव लिँदै अर्थमन्त्री शर्माले उक्त उद्घोष गरेका हुन् ।

अर्थ मन्त्रालयको आग्रहमा बिहीवार दिउँसो महासंघका अध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष रामचन्द्र संघई, परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारीका साथै चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफल गरेका थिए । भेटवार्तामा अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताए । बजेटमा व्यवसायीको मात्र नभई दूरदराजका नागरिकको पनि कुरा सुनिने उनले बताए ।

सरकारले शोधनान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको ह्रासलाई सुधार गर्न खोजे पनि बाह्य कारणले अप्ठ्यारो परेको अर्थमन्त्री शर्माले बताए । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव पेश गरेका थिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमताभन्दा बाहिरको विषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए । त्यस्तै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए । ऊर्जामा निजीक्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै उनले विद्युत् खरीद विक्री सम्झैता (पीपीए) रोक्न नहुने धारणा राखे । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष अग्रवालले निजीक्षेत्रमैत्री वातावरण सृजना गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्