अर्थतन्त्रको रेमिट्यान्स टेको पनि ढल्दै ! फागुनमा वैदेशिक रोजगारीमा जानेको संख्या झनै घट्यो



काठमाडौं,चैत १२। फागुनमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झनै घटेको छ ।

महँगी बढीरहेको अहिलेको अवस्थामा नेपालको व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति घटेर ६ महीना भन्दा कम समयको वस्तु तथा सेवाको आयात धान्न मात्रै पुग्ने अवस्थामा छ ।

आयातमा आधारित अर्थतन्त्र नै भएपनि विगतमा रेमिट्यान्स आयले विदेशी मुद्राको सञ्चितिमा यति धेरै चाप परेको थिएन ।

अहिले भने रेमिट्यान्स मात्रै नघटेर विदेशिने नेपालीको संख्या पनि घट्न थालेको छ । यसले गर्दा नेपालको अर्थतन्त्र ट्र्याकमा आउन अझै लामो समय लाग्न सक्ने जानकारहरू बताउँछन् ।

विदेश गएका नेपालीहरूले हुण्डीमार्फत रेमिट्यान्स पठाउँदा त्यसले अनौपचारिक अर्थतन्त्रलाई मात्रै टेवा पुर्‍याइरहेको छ । केही नेपालीहरूले क्रिप्टो करेन्सी लगायतका डिजिटल मुद्रामा लगानी गरेकाले रेमिट्यान्स आय खुम्चिरहेको राष्ट्र बैंकको भनाइ छ ।

तर अहिले भने विदेश जाने नेपालीको संख्या नै निरन्तर घट्न थालेपछि यसले नेपालको अर्थतन्त्रमा धेरै चिन्ता थपेको जानकारहरू बताउँछन् ।

फागुनमा विदेश जाने नेपालीको संख्या ५३ हजार ४०० छ । यो मध्ये २७ हजार ५०० कामदार मात्रै पहिलोपटक विदेशिएका छन् ।

माघमा विदेशीको संख्या ५४ हजार ४०० मात्रै रहेपनि पहिलोपटक विदेशीने कामदारको संख्या ३२ हजार ३०० रहेको थियो ।

समग्रमा २ हजार कामदार मात्रै कम विदेशीएको देखिएपनि पहिलोपटक विदेश जाने कामदारको संख्या ५ हजारले घटेको छ ।

पुसमा ६६ हजार ६०० कामदार वैदेशिक रोजगारीमा जाँदा ३६ हजार कामदार पहिलोपटक विदेश गएका थिए ।

फागुनमा विदेश जाने कामदार मध्ये सबैभन्दा धेरै साउदी र कतारमा १५/१५ हजार र यूएईमा ११ हजार कामदार वैदेशिक रोजगारीको लागि गएका छन् ।

पहिलोपटक रोजगारीमा जानेको संख्या साउदी अरबमा ९ हजार पुग्नु बाहेक अन्य देशमा धेरै नै कम नेपाली रोजगारीको लागि पुगेका छन् ।

कतार र यूएईमा ५/६ हजारको संख्यामा नयाँ कामदार गएपनि अन्य देशहरूमा त १ हजारको संख्यामा पनि नयाँ कामदार गएका छैनन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्