लुम्बिनीका ५ ओटा जिल्लामा अब जाँदैन झ्याप्प–झ्याप्प बिजुली : ऊर्जामन्त्री भुसाल
काठमाडौ,चैत १३ । कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठानको विद्युत् आपूर्तिलाई भरपर्दो एवं गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सबस्टेशन शनिवार एकैसाथ उद्घाटन गरिएको छ ।
सो प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि स्थानीय क्षेत्रमा सहज विद्युत् आपूर्ति हुने तथा विद्युत्को प्राविधिक चुहावट पनि कम हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी क्षमताको सबस्टेशन पनि सञ्चालन आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले शनिवार सन्धिखर्कमा आयोजित एक समारोहमा प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेकी हुन् ।
प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ । हाल बुटवलबाट ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सो प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प बत्ती जाने र भोल्टेजको समस्या थियो भने प्राविधिक चुहावट पनि उत्तिकै थियो ।
कार्यक्रममा मन्त्री भुसालले अर्घाखाँचीमा निर्माण भएको पहिलो १३२ केभीको उच्च भोल्टेजको प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएकाले यस क्षेत्रमा विद्युत् आपूर्ति गुणस्तरीय तथा भरपर्दो हुने र समग्र विकासका लागि मेरुदण्ड तयार भएको बताइन् ।
यस भेगका उपभोक्ताले झ्याप्प–झ्याप्प बत्ती गएको भन्दै गुनासो गर्ने गरेको उल्लेख गर्दै भुसालले अब त्यस्तो समस्या समाधान भएकाले बत्ती बाल्न मात्रै नभई खाना पकाउन पनि विद्युत् प्रयोग गर्न आग्रह गरिन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत् पु¥याउन विद्युतीकरणलाई ‘लास्ट माइल’को रूपमा अगाडि बढाइएको बताए।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ स्थित १३२ केभीको मोतीपुर सबस्टेशनबाट शुरु भई अर्घाखाँचीको शीतगङ्गा नगरपालिका हुँदै ३८ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेशनमा ल्याइएको छ । प्रसारण लाइनमा १०६ ओटा टावर निर्माण गरिएको छ ।
बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेशनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेशनको यही चैत ३ चैतमा उद्घाटन गरिएको थियो ।
मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टिल जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करीब ७० करोड रुपैयाँ छ । आर्थिक अभियानबाट

