कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो : अध्यक्ष नेपाल
काठमाडौ,चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आइतबार उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा साम्यवादको आवरणमा तानशाह जन्मने गरेको विश्वमञ्चमा दृष्टान्त रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले जनताले करिब दुई तिहाइको बहुमत कम्युनिष्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनाताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गरे ।

