मिल्नेसंग मिल्ने, नमिल्नेलाई निल्ने हो : सुर्य थापा



प्युठान,चैत १४ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले स्थानीय तहको निर्वाचनमा एमालेसंग मिल्न चाहने राजनैतिक दलसंग तालमेल हुन सक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चा/मसालसंग भने तालमेल नहुने बताउँदै थापाले भने, ‘हामीसंग मिल्न आउनेसंग मिल्ने पनि हो, र नमिल्नेलाई निल्ने पनि हो ।’

झिमरुक -४ बाङ्गेकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले देशभर मसालको मत भन्दा प्यूठानमा मात्रै एमालेको मत जोड्दा बढी हुने जिकिर गरे। झिमरुक र मल्लरानीबाट मसाल र मसाल निकट राष्ट्रिय जनमोर्चालाई सधैको लागि बाईबाई गरिने उद्दघोष गरिएको समेत थापाले बताए ।

कार्यकर्ता जोगाउन ८७ वर्षिय मसाल महामन्त्री मोहन विक्रम सिंहलाई टोलटोलमा दौडाईएको प्रती थापाले कटाक्ष गर्दै भने, ‘झिम्रुकको मसाल नेतृत्त्व पंक्तिले भनेर कार्यकर्ता जोगिएनन्। आरामको जरूरत भएका वृद्ध महामन्त्रीलाई नै कुदाउने अवस्था आयो।’ सिंहले रोक्दैमा एमालेमा प्रवेश गर्ने लहरलाई कोही कसैले रोक्न नसक्ने थापाको दाबी छ। ३० वर्षदेखि मसाललाई हेर्दै तथा भोग्दै आएका झिमरुकबासीले एकपटक एमालेलाई हेर्न चाहेको थापाको भनाई थियो। झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले गिलास छोडी सूर्य चिन्ह रोज्न आए स्वागत गरिने थापाले बताए।

३८ वर्ष अघिदेखि राष्ट्रिय जनमोर्चामा रहेर काम गर्दै आएका स्थानीय जगत बहादुर थापा र २२ वर्ष अघिदेखि राष्ट्रिय जनमोर्चामा सक्रीयताका साथ काम गर्दै आएका स्थानीय भरत विक्रम जिसी सहित ९७ जना नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणि पोख्रेलले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद हरिप्रसाद रिजाल एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले समेत सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्