नुवाकोट काङ्ग्रेस नेतृत्व टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं, चैत १५ । नेपाली काङ्ग्रेस नुवाकोटको महत प्यानलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएका हुन ।

प्रधानमन्त्री देउवालाई मंगलबार उनको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय जस्ता विषय रहेको छ । प्रधानमन्त्री देउवाले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक रहेको बताए ।

ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ। पूर्वमन्त्रीसमेत रहेका डा महत ककनीमा नेपाली कांग्रेसले आयोजना गरेको गाउँगाउँ जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गतको प्रशिक्षणमा सहभागी भएर फर्कंदा स्थानीयवासीले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पुर्याईदिन अनुरोध गरेका थिए।

यस्तै ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाउँपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ। नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका माग तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखलाई बोलाएर तुरुन्त कार्यान्वयनका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवासँगको भेटका अवसरमा प्रवक्ता डा महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेलगायत नगरसमितिका अध्यक्षहरुले पनि समस्याका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्