कांग्रेस र कम्युनिस्टले अवसर पाएर पनि देश बनाएनन् : लिङ्देन
कपिलवस्तु,चैत १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका प्रमुख राजनितिक दललाई चुनावमा जिताएर कुनै उपलब्धि हासिल नहुने बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले पटकपटक सत्ताको नेतृत्व गर्ने अवसर पाएरपनि देश बनाउन नसकेको उहाँले टिप्पणी गरे ।
कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस कम्युनिस्टलाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह हो भने। साँढेको टाङमुनि बाल्टी थापेर जे गर्दा पनि दुध नदिने बताउदै अध्यक्ष लिङ्देनले भने,’यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु हो ।’ उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेद्वारलाई जिताउन अपिल समेत गरे । राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागी अहित हुने कुनै पनि काम नगर्ने बताउदैं राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गरे ।
एमसीसीतर्फ ईकिंत गर्दै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनितिक दलका नेतृत्वको केटाकेटीपनले अन्र्तराष्ट्रिय जगतमा नेपालको विश्वासनियता गुमेको बताए । देशमा विदेशी शक्ति राष्ट्रहरु रणनितिक रुपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनको ठहर छ। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक हजार जना बढीे राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेताले सम्बोधन गरेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले जानकारी दिए । केन्द्रिय सदस्य रायमाझीले अब कपिलवस्तुमा राप्रपा थप मजबुत बनेको दाबी गरे ।

