कर छलेको अभियोगमा भारतीय नागरिक विरुद्ध मुद्दा दायर

काठमाडौं,छैन १७। राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा एकजना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनले विमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए ।
‘उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिम बिजक जारी नगरी अर्डर र इस्टिमेट फर्म, लुज बिल र गैरबिजक जारी गरी मालसामान विक्रीगरी भएको आयलाई आफ्नो आधिकारिक आयमा समावेश नगरी ठूलो परिमाणमा नगर घरमा राख्ने गरेको भेटिएको छ,’ विभागले दायर गरेको मुद्दाको विवरणमा भनिएको छ, ‘यसबाट अग्रवालले आयकर र मूल्य अभिवृद्धि करसमेत छली गरेको देखिन्छ ।’
विभागले विमला इन्टरप्राइजेज र यसका सञ्चालक अग्रवाल विरुद्ध ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत गरी कुल ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ असुल उपर गर्नुपर्ने पनि माग गरेको छ ।
विभागले उनको स्थायी ठेगाना पश्चिम बंगाल राज्य सिलगुडी थाना स्थायी ठेगाना रहेको पनि बताएको छ ।